कैलालीको धनगढीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिक चालक धनगढी–३ बस्ने २३ वर्षीय उमेश चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाइकल र चालक अछामको साँफेबगर नगरपालिका–१४ बस्ने १९ वर्षीय कैलाश साउदले चलाएको से.७ प. ५७४१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा शुक्रवार दुर्घटना भएको हो ।
घाइते हुनेमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाइकल चालक चन्द रहेका छन् । चन्दको टाउको, अनुहार र पिठ्युमा चोट लागेको छ ।

यस्तै से.७ प. ५७४१ नम्बरको मोटरसाइकल चालक साउदको हात, खुट्टा र अनुहारमा चोट लागेको छ । साउदले चलाएको मोटरसाइकलमा पछाडि सवार डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २२ वर्षीय खगेन्द्र खड्का र धनगढी उपमहानगरपालिका–९ बस्ने २७ वर्षीय विरेन्द्र बोहरा घाईते भएको प्रहरीले जनाएको छ ।

चारै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । प्रहरी सहायक निरीक्षक जगतप्रसाद अवस्थीको कमान्डमा प्रहरी टोली दुर्घटना स्थलमा खटिएको र चारै जनाले मादक पदार्थ सेवन गरेको जनाइएको छ । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
