मङ्गलबार सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक बस्ने कार्यतालिका रहेको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव, असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही र प्रगतिको अवस्था बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा समेत छलफल हुनेछ ।
त्यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गा जमिनको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापनलगायत विषयमा छलफल हुने भएको छ । सबै बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय गरिएको छ ।



