आइतबार चट्याङ लागेर घाइते भएका बर्दगोरियाका गाउँपालिकाका १० जनाको उपचार स्थानीय बर्दगोरिया गाउँ सरकारले गर्ने भएको छ । पालिकाको वडा नम्बर-१ स्थित उत्तर मुढाका भीमबहादुर चौधरीको घरमा १३ दिनको पुण्य तिथिमा जम्मा भएका १० जना महिलालाई चट्याङ लागेको थियो ।

“अस्पतालले घाइतेहरूको अवस्था सामान्य छ भनेको छ । उनीहरूको उपचार बर्दगोरिया गाउँपालिकाले गर्ने छ । अध्यक्ष ज्युले बोलाउनु भएको आकस्मिक छलफलबाट हामीले नै उपचार गर्ने सहमति भयो ।” पालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले भने ।
प्रहरीका अनुसार चट्याङ लागेर घाइते हुनेमा सोही ठाउँका ५० बर्सिया फिरिया देवी चौधरी, ३५ बर्सिया रितादेवी चौधरी, ३२ बर्सिया माया चौधरी, ४५ बर्सिया कमलापती चौधरी र ३२ बर्सिया किरण चौधरी रहेका छन् । यस्तै ३८ बर्सिया उर्मिला डगौरा, ४० बर्सिया पार्वती चौधरी, ५० बर्सिया फुलकुमारी चौधरी, ३५ बर्सिया निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसर की ३० बर्सिया ममता थारु रहेका छन् । उनीहरूको स्थानीय बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।


