
भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर उत्तरपूर्वमा पर्ने सागर जिल्लाको शाहपुर गाउँमा पर्खाल भत्किएको हो ।


“आइतवार शाहपुरको हरदौल बाबा मन्दिर नजिकै भएको दुःखद घटनामा १० देखि १५ वर्ष उमेर समूहका नौ बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मन्दिरको छेउमा रहेको घरको भित्ता ढल्दा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि मानिसहरू मन्दिरमा जम्मा भएका थिए,” एक प्रहरी अधिकारीले भने ।
पचास वर्ष पुरानो र जीर्ण घर बर्खायाममा भारी वर्षाका कारण भत्किएको उनले बताए। घटना लगत्तै उद्धार र भग्नावशेषमुनिबाट मृतकलाई निकाल्न प्रकोप प्रतिकार्य बलका जवानहरू र प्रहरी टोलीहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले जनाएका छन्। घाइते बालबालिकालाई उपचारका लागि अस्पताल लगिएको छ ।




