
सुखड: कैलालीको जोशीपुरमा शनिबार दिउँसो गहुँवालीमा आगलागी भएको छ । उक्त आगलागीबाट ५० बिघा जमिनमा रहेको गहुँवाली जलेर नष्ट भएको हो ।

जिल्लाको जोशीपुर गाउँपालिका ६ पकरियामा काटेर थुपारेर राखेको गहुँबालीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आज दिउँसो करिब १२:५० बजे तिर स्थानीय एक महिलाले आफ्नो घरको आँगनमा बालेको आगो गहुँमा सल्किएर आगलागी भएको हो। महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
खेतमा काटेर थुपारेर राखेको गहुँमा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीको भनाइ छ । उक्त आगलागीबाट ५० बिघा जमिनमा काटेर राखेको सबै गहुँ जलेको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
स्थानीय, प्रहरी लगायतको सहयोगमा आगो निभाउने क्रम जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
