हात्तीपाइले रोग निवारणका लागि कैलालीको बर्दगोरियामा मङ्गलवारबाट सर्भे सुरु भएको छ । जिल्लाको उत्तरी क्षेत्रका ७ पालिकाका ३० वडामा गरिने सर्भेको काम बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १, २ र ५ मा हुनेछ । अहिले वडा नम्बर ५ बाट सर्भेको काम थाकिएको छ ।

हात्तीपाइले निवारण नभए पछि कैलालीमा ११ औँ पटक सम्म हात्तीपाइले विरुद्धको आम औषधि सेवन गरिएको थियो । त्यसको प्रभावकारिता मापन गरि जिल्लामा यो रोग निवारण भए नभएको अध्ययन गर्न सर्भे थालिएको हो । सर्भेका लागि जिल्लालाई ए र बि गरि दुई समूहमा विभाजन गरिएको छ । उत्तरी क्षेत्रमा पर्ने चुरे, मोहन्याल र बर्दगोरिया गाउँपालिका तथा गोदावरी, गौरीगङ्गा, घोडाघोडी र लम्किचुहा नगरपालिका गरि ७ पालिकालाई समूह ए मा र टिकापुर, भजनी नगरपालिका, कैलारी, जोशीपुर र जानकी गाउँपालिका र धनगढी उपमहानगरपालिका गरि ६ पालिकालाई समूह बि मा राखेर सर्भे सुरु गरिएको छ ।
समूह ए मा रहेका ७ पालिकाका ३० वडामा ३ हजार १ सय ५० नमुना सङ्कलन गरिने छ । दिउँसो सङ्कलन गरिएको नमुनामा हात्तीपाइले पोजेटिभ देखिएमा पोजेटिभ व्यक्तिको पुनः रातिको समयमा नमुना सङ्कलन गरि परीक्षण गरिने छ । हाल सम्म यो समूहमा ७ वटा दिवाकालीन नमुना पोजेटिभ देखिएको जनाइएको छ । उनीहरूको रात्रिकालीन नमुना सङ्कलन गरि परीक्षणका लागि पठाइएको छ ।

यसरी सङ्कलन गरिएका रात्रिकालीन नमुना मध्ये जिल्ला भरिमा १८ जनामा पोजेटिभ देखिए पनि कैलाली जिल्ला हात्तीपाइले निवारण भएको मानिने छ तर १८ जना भन्दा बढीमा पोजेटिभ देखिएमा पुनः १२ औँ पटक हात्तीपाइले विरुद्धको आम औषधि सेवन गर्नु पर्ने छ ।

