थारु समुदायको महान पर्व माघीको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका-६ सुगर खालमा सोमबारबाट माघी मेला सुरु भएको छ । राम जानकी सेवा समाजको आयोजनामा भएको मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी, वडा नम्बर-६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अतिथिहरूले कला संस्कृतिको पहिचान, पर्यटन प्रवर्द्धन तथा थारु परिकारलाई प्रवर्द्धन गर्न मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा जोड दिए । यस वर्षबाट सुरु गरिएको मेलालाई नियमित गर्न भन्दै गाउँ सरकार सहयोगका लागि तयार रहेको उल्लेख गरे ।
सोमबारबाट सुरु भएको मेला माघ ६ गते सम्म चल्ने छ । मेलामा स्थानीय कला, संस्कृति प्रदर्शनी सँगै छुट्टै थारु गाउँ समेत राखिएको छ । स्थानीय कला, भारतीय रामलीला सँगै थारु परिकारको स्वाद लिन मेलामा सहभागिताका लागि सबैलाई अनुरोध गरिएको छ ।



प्रकाशित :- २०८० माघ १, गते सोमबार

