राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक कठिनाइ नआए शुक्रबार सार्वजनिक गर्ने गरि तयारी गरेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण पछि पुन परीक्षण तथा रुजु र डाटा इन्ट्रीको काम सकेर त्रुटि अध्ययन गरिरहेको जनाएको छ ।
बोर्ड उच्च स्रोतका अनुसार प्राविधिक कठिनाइ नआए आज नै नतिजा सार्वजनिक गर्ने गरि तयारी गरेको छ । प्राविधिमा समस्या आएमा शनिबार सम्म नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ ।
बोर्डले गत वैशाख १४ शुक्रबार देखि २४ गते सोमबार सम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा ५ हजार ५ सय ४२ विद्यालयका ४ लाख ९१ हजार ४ सय ९७ जना विद्यार्थी सहभागी थिए । जापानको एक परीक्षा केन्द्र सहित एक हजार ५ सय २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशन हुने बोर्डले जनाएको छ । बोर्डले परीक्षामा प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी अनुत्तीर्ण हुने जनाएको छ ।