बैतडी : बैतडी जिल्लाका स्थानीय तहले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदान अन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन् ।
१० स्थानीय तह रहेको बैतडीका सबै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८०/८१ मा खर्च हुन नसकेर २५ करोड २१ लाख ९४ हजार ३ सय ६९ फिर्ता भएको छ । गत आर्थिक वर्षमा बैतडीका स्थानीय तहहरूको लागि २ अर्ब ८३ करोड ५३ लाख ५७ हजार ६ सय ४८ रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसमध्ये २ अर्ब ५८ करोड ३१ लाख ६३ हजार २ सय ७८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिएका छन् ।
गत आर्थिक वर्षमा पाटन नगरपालिकामा ३८ करोड ६६ लाख ८२ हजार २ सय ३४ रुपैयाँ प्राप्त भएकोमा ३३ करोड ८८ लाख ९९ हजार १ सय २३ खर्च भएको थियो । सो नगरपालिकाका लागि प्राप्तमध्ये ४ करोड ७७ लाख ८३ हजार १ सय १० फिर्ता भएको हो । त्यस्तै दोगडाकेदार गाउँपालिकामा ३० करोड २० लाख ८१ हजार २ सय ९३ रुपैयाँ प्राप्त मध्ये २६ करोड ६५ लाख ८१ हजार ५ सय ३४ खर्च भएको छ । बाँकी ३ करोड ५४ लाख ९९ हजार ७ सय ५८ फिर्ता भएको छ ।
दशरथचन्द नगरपालिकामा ४० करोड २४ लाख १८ हजार ९ सय ६० बजेट प्राप्त भएकोमा ३७ करोड २४ लाख ९४ हजार २ सय ३४ खर्च हुँदा २ करोड ९९ लाख २४ हजार ७ सय २५ खर्च हुन सकेन । पुर्चौंडी नगरपालिकामा ३८ करोड २९ लाख ३३ हजार ९ सय ३० बजेट प्राप्त भएकोमा ३७ करोड ३९ लाख १८ हजार ४ सय ३ खर्च भइ ९० लाख १५ हजार ५ सय २६ रुपैयाँ फिर्ता भएको छ ।
मेलौली नगरपालिकाले २७ करोड १२ लाख २५ हजार २६ रुपैयाँ अनुदान प्राप्त गरेकोमा २४ करोड ३९ लाख ५४ हजार ३ सय ८५ रुपैयाँ खर्च गरेको हो । २ करोड ७२ लाख ७० हजार ६ सय ४० फिर्ता भएको छ । त्यस्तै डिलासैनी गाउँपालिकाबाट गत आवमा ६८ लाख ७२ हजार २ सय ८२ फिर्ता भएको छ । २४ करोड ५५ लाख ९९ हजार १ सय ४३ बजेटमध्ये २३ करोड ८७ लाख २६ हजार ८ सय ६० खर्च गरेको थियो । पञ्चेश्वर गाउँपालिकाबाट गत आवमा १ करोड ९८ लाख ५० हजार ३ सय ६० फिर्ता भएको छ । २० करोड २४ लाख ८८ हजार ९५ बजेटमध्ये १८ करोड २६ लाख ३७ हजार ७ सय ३४ खर्च भएको जनाइएको छ । शिवनाथ गाउँपालिकाबाट गत आवमा ३ करोड २९ लाख ३४ हजार ७ सय ५६ फिर्ता भएको छ ।
शिवनाथमा १८ करोड ६२ लाख ३४ हजार ३ सय ५१ बजेटमध्ये १५ करोड ३३ लाख ९४ खर्च भएको छ । सिगास गाउँपालिकामा २१ करोड ६४ लाख ८३ हजार ५ सय बजेट प्राप्त भएकोमध्येबाट २० करोड ९ लाख ७७ हजार ३१ खर्च भएको छ । सिगासबाट खर्च हुन नसकेर १ करोड ५५ लाख ६ हजार ४ सय ६९ फिर्ता भएको छ ।
सुर्नया गाउँपालिकाले २ करोड ७५ लाख ३६ हजार ७ सय ३९ फिर्ता गरेको छ । सुर्नयाले २३ करोड ९२ लाख १० हजार ६ सय १६ प्राप्त गरेकोमा २१ करोड १६ लाख ७३ हजार ८ सय ७६ मात्र खर्च गरेको थियो। सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गत प्राप्त हुने बजेट सर्तसहित आउने भएकोले सबै रकम खर्च हुन नसकेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले बताए ।
उनले भने, ‘शीर्षक छुट्याएर बजेट दिएको हुन्छ । सोही शीर्षकमा मात्रै खर्च गर्नुपर्ने हुन्छ ठेक्का प्रक्रियाबाट योजना निर्माण गर्दा घटाघटीमा ठेक्का गर्नुपर्ने र निर्धारित बजेट बाँकी रहने भएकोले त्यस्तो बचेको बजेट फेरि खर्च गर्न नमिल्ने हुँदा फिर्ता जाने गरेको छ ।’


