धनगढी : सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गरेपछि आजदेखि सुरु हुन् लागेको हो ।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाईभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए । प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको बताए। सभामुख भीमबहादुर भण्डारीले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशन किन बोलाइएको हो ? भन्ने विषयमा छलफल भएको थियो ।
प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा विशेष अधिवेशन बोलाइनुको कारण र उक्त अधिवेशनमा गर्ने गतिविधिबारे उल्लेख नगरिएको भन्दै एक पटक सोध्ने निर्णय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी भने सहभागी थिएन ।
सङ्घमा राजनीतिक समीकरण फेरिएर कांग्रेस–एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा असार २० गते एमाले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि बजेट शून्यतामा गएको छ ।
सरकारले असार २९ गते प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। तर प्रदेश प्रमुखले पाँच दिनपछि साउन ३ गते अधिवेशन आह्वान सम्बन्धी सिफारिस कार्यान्वन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए । प्रदेश प्रमुखले चालेको यो कदमले अध्यायदेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको तयारीमा ब्रेक लागेको छ ।


