कैलाली : सुदूरपश्चिम प्रदेशबाट वर्षेनी विदेशिनेको सङ्ख्या बढ्दो छ । आर्थिक वर्ष २०८०/०८१ मा मात्रै सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमा पुरुषसँगै महिलाको सङ्ख्या पनि बढ्न थालेको छ । साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढ्न थालेको छ । यहाँबाट धेरै सङ्ख्यामा जाने तीन देशसहित मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कन्गो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा रहेका छन् । यसका साथै यूएई, कतार, साउदी र माल्टाका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशबाट ९ हजार ४ सय ४७ पुरुषले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन् । त्यस्तै ९ सय ४२ महिलाले समेत वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएको पाइएको छ । सो अवधिसम्म पुरुष र महिला गरेर कुल १० हजार ३ सय ८९ को सङ्ख्यामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएको नेपाल राष्ट्र बैङ्क धनगढीले गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
यो सङ्ख्या रोजगारीका लागि तेस्रो मुलुक जाने पुरुषसँगै महिलाको सङ्ख्या पनि पछिल्लो समय बढ्दै गएको छ । तर सुदूरपश्चिम प्रदेशको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य भनेकै भारत बनेको छ । यहाँबाट रोजगारीका लागि भारतमा कति जना गएका छन भन्ने आधिकारिक तथ्याङ्क सरकारी कार्यालयसँग छैन् ।
तर, झण्डै ६ लाखको सङ्ख्यामा भारतका विभिन्न सहरमा कामको खोजीमा यस प्रदेशबाट गएको हुन सक्ने अनुमान भने गरिएको छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा वर्षेनी भारत लगायत तेस्रो मुलुक जाने श्रमिकको सङ्ख्या बढ्दै गएको छ । छिमेकी मुलुक भारतमा भने परिवारसहित जानेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको देखिएको छ ।


