कैलालीको घोडाघोडी नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ । घोडाघोडी नगरपालिकाको शिक्षा नियमावली २०८० (संशोधन सहित) को अनुसूची १५ मा उल्लेखित मापदण्डका आधारमा खुला प्रतिस्पर्धाबाट नगरपालिकाले प्रधानाध्यापक छनोट गरेको हो ।
प्रधानाध्यापक छनौट मूल्याङ्कन समिति गठनका लागि आवेदन माग गरेको नगरपालिकाले सोही आवेदनको आधारमा विज्ञ समूह बनाएर समिति गठन गरेको थियो । नगरपालिका भित्र रहेका ५१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकका लागि २०८० साउन ४ गते खुल्ला आवेदन माग गरेको थियो ।
आवेदक शिक्षकहरूको भाद्र ५ र ६ गते प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ता लिइएको थियो । उक्त प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ताको आधारमा नगरपालिकाले शुक्रवार नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजा अनुसार २७ जना प्रधानाध्यापकहरू खुला प्रतिस्पर्धाबाट छनोट भएका छन् ।
१९ वटा आधारभूत तहको प्रधानाध्यापकका लागि १९ जनाको आवेदन परेको थियो भने १४ माध्यमिक तहको प्रधानाध्यापकका लागी २२ जनाको आवेदन परेको थियो । आवेदन अनुसार ३३ वटा विद्यालयको प्रधानाध्यापकका लागि शिक्षकहरूले दरखास्त आवेदन दिएका थिए ।
जस मध्ये आधारभूत र माध्यमिक तहका लागी २७ जना प्रधानाध्यापकहरू खुला प्रतिस्पर्धाबाट छनोट भएका छन् । परीक्षा मर्यादा विपरीत काम गरेका केहीको नतिजा रद्द र केही उम्मेदारहरुले न्यूनतम अङ्क प्राप्त नभएकाले सिफारिस नगरिएको नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाले सहभागी सबैको नतिजा उनीहरूले प्राप्त गरेको अङ्कको आधारमा योग्यता क्रम सार्वजनिक गरेको छ । सोही अङ्कको आधारमा अब प्रधानाध्यापक नियुक्ति हुने नगरपालिकाले जनाएको छ । आवेदन नपरेका अन्य सामुदायिक विद्यालयहरूको प्रधानाध्यापकको लागी पुनः खुल्ला आवेदन गरिने नगरपालिकाले जानकारी दिएको छ ।
प्रकाशित :- २०८१ भाद्र ८, गते शनिबार