
सुदूरपश्चिम प्रदेशका किसानहरुले धान भित्र्याइसकेका छन् । मध्य जेठबाटै रोपाइँ थाल्ने भएकाले यहाँका किसानले छिटो धान काटेर सकेका हुन् ।


अहिले धान काटेको जग्गा जोतेर हिउँदे बाली मुसुरो, तोरीलगायत लगाउने तयारीमा किसानहरु रहेका छन् । तिहारअघि नै धान भित्र्याएका धनगढी उपमहानगरपालिका–५ का कृषक रामप्रसाद चौधरीले खेत जोतेर गहुँ छर्न लागेको बताएका छन् । कृषि ज्ञानकेन्द्र कैलालीका सूचनाअधिकारी श्याम जोशीले उत्पादन ७ देखि ८ प्रतिशतसम्म बढेको आंकलन गरिएको बताए ।
हालसम्म जिल्लाभरिका ५० ठाउँमा किसानको खेतमै गएर धान कटानी र थ्रेसिङ गरेर तथ्याङ्क सङ्कलन गरिएको ज्ञानकेन्द्र प्रमुख हरिप्रसाद पनेरूले बताए । सुदूरपश्चिममा यो वर्ष १ लाख ७४ हजार ५ सय ७६ हेक्टरमा रोपाइँ भएको थियो । धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ७ मेट्रिकटन रहेको ज्ञानकेन्द्रले जनाएको छ । आधुनिक प्रविधि र उन्नत बिउको बढ्दो प्रयोगले पनि उत्पादकत्वमा सुधार हुँदै गएको कृषि प्राविधिकको भनाइ छ । कैलालीमा करिब ६८ हजार हेक्टरमा धानखेती हुने गरेको छ ।



