कैलालीको लम्किचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि मङ्गलवार आवश्यक योजना तथा राय सुझाव माग गरेको छ । पालिकाको वार्षिक नीति तथा कार्यक्रममा नगरवासीको जीवन स्तरमा सुधार ल्याउन तथा समृद्ध पालिका निर्माणका लागि जनस्तरबाट लिखित रूपमा सुझाव माग गरेको हो ।
आगामी आर्थिक वर्ष लक्षित योजना, नीति तथा कार्यक्रमका लागि टोल भेला पनि सँगै सुरु गर्न थालेको पालिकाले जनाएको छ । “कतिपय राय सुझाव टोल तथा बस्ती भेलाबाट पनि आउँछन् । भेलामा सहभागी हुन नसक्नेहरूका लागि पनि भनेर लिखित रूपमा कार्यालयमा वा इमेल ठेगानामा समेत पुग्ने गरि सुझाव माग गरेका छौ । सबैको राय सुझावले समृद्ध पालिका निर्माणमा महत्त्वपूर्ण मदत पुग्ने छ ।” नगर प्रमुख सुशीला शाहीले भनिन् ।
पालिकाले यति बेला वार्षिक नीति, कार्यक्रम तथा योजना तर्जुमा सम्बन्धी कार्य प्रारम्भ गरेको छ । नगरवासीले आफ्ना राय सुझावहरू लिखित रूपमा योजना शाखा, प्रमुखको सचिवालय तथा इमेल ठेगाना lamkicm@gmail.com मार्फत पनि पठाउन सक्ने छन् ।
प्रकाशित :- २०८१ बैशाख १९, गते बुधबार