समाचार सारांश
- • प्रहरी स्रोतकाअनुसार भारततर्फ भागिरहेको अवस्थामा उनीहरूलाई सीमा नजिकैबाट पक्राउ गरिएको हो ।
- • यो घटनामा पक्राउ परेका नेपालीको ग्याङ कोब्रा सरकारका नामले परिचित छ ।
- • यो समूहले गत वर्षको फागुनमा अत्तरियामा विद्युतका कर्मचारीमाथि समेत दिनदहाडै खुकुरी प्रहार गरेको थियो ।
कैलालीको गोदावरी नगरपालिका–४ मा होटलमा डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गरेको घटनामा प्रहरीले १० जनालाई गएराति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने सन्नी नेपाली समेतका छन् । प्रहरी स्रोतकाअनुसार भारततर्फ भागिरहेको अवस्थामा उनीहरूलाई सीमा नजिकैबाट पक्राउ गरिएको हो ।
यो घटनामा पक्राउ परेका नेपालीको ग्याङ कोब्रा सरकारका नामले परिचित छ । त्यसको नेतृत्व सन्नी नेपालीले गर्दै आएको प्रहरीले जनाएको छ । यो समूहले गत वर्षको फागुनमा अत्तरियामा विद्युतका कर्मचारीमाथि समेत दिनदहाडै खुकुरी प्रहार गरेको थियो ।
अत्तरियास्थित विद्युतको नो लाइटमा कार्यरत सुन्दरलाल चौधरीमाथि कोब्रा सरकारका युवाहरूले खुकुरी प्रहार गरेका थिए ।
चौधरीको जाहेरीले प्रतिवादी रहेका सन्नी नेपाली त्यहीँ बेलादेखि प्रहरीको फरार सूचीमा थिए । खुकुरी प्रहार गर्ने मध्येका प्रविन शाही भने त्यही बेला पक्राउ परेका थिए ।
उनी राजनीतिक दलका नेताको संरक्षणमा रहेको दाबी गरिन्छ । फरार भएकै अवस्थामा उनकै समूहले हतियार प्रहारको दोस्रो घटना गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । घाइते ऐरको भारतमा उपचार जारी छ ।


