काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् ।
विश्वासको मत माग्ने क्रममा ओलीले आजको संसद् बैठकमा सात बुँदे सहमति सार्वजनिक गरेका हुन् । एमाले र कांग्रेसले आमनागरिकको चाहनाअनुसार विकासको गति बढाउने, भ्रष्टाचार हटाउने लक्ष्यसहित राष्ट्रिय सहमतिको सरकार बनाउने, संविधान कार्यान्वयनका सबल र दुर्बल पक्षको अध्ययन गरेर संविधान संशोधन गर्ने र कानुन निर्माणलाई प्राथमिकता दिने सहमति भएको ओलीले बताए ।
यस्तै अर्थतन्त्रमा देखिएको सुस्तता हटाएर चलायमान बनाउने, विदेशी लगानी आकर्षित गरेर देशमै रोजगारी सृजना गर्ने, अहिलेको सरकार दुई वर्ष एमालेले र बाँकी समय नेपाली कांग्रेसले चलाउने तथा सङ्घीय सरकारमा जस्तै प्रदेश सरकारहरू पनि मिलेर चलाउने सहमति भएको प्रधानमन्त्री ओलीले बताएका हुन् ।