
दार्चुला : दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृतसहित २ जना कर्मचारी ४ लाख १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक (जेटीए) अशोकसिंह धामीलाई सोमबार ४ लाख १२ हजार रुपैयाँ घुस लिँदा लिँदै पक्राउ गरेको थियो ।
कृषि प्राविधिकद्वय धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका-४ बोराडाँडीबाट पक्राउ गरेको थियो ।

दुबै जनाले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा र सो बाहेक उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र जेटीए धामीको नाममा काटिएको २ लाख ५० हजारको २ वटा गरी ५० लाख ६० हजारको चेकसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।

अख्तियारको टोलीले हिजो सोमबार मोहन र अशोकले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ । अख्तियारको टोलीले धामी द्वयलाई ४ लाख १२ हजार घुस रकमको चेकसहित थप ५० लाख ६० हजारको ७ थान चेकसहित नियन्त्रणमा लिएको थियो । उनीहरूका साथमा फेला पारेका चेक बरामद गरिएको जनाएको छ ।

अख्तियारले उनीहरूमथि थप अनुसन्धान भइरहेको बताएको छ ।
