काठमाण्डौ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । गएको जेठ २५ गते मुख्यमन्त्रीको शपथ लिएका जनमत पार्टीका सिंहले आज प्रदेश सभामा विश्वासको मत लिएका हुन् ।

प्रदेश सभामा उपस्थित १ सय १ जना सांसदमध्ये मुख्यमन्त्री सिंहको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको थियो । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मतका लागि ५४ मत पर्याप्त हुन्छ ।
मुख्यमन्त्री सिंहलाई जनमतसहित नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदहरूले भने विपक्षमा मतदान गरेका थिए ।
सङ्घमा नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री सिंहले बिहान मात्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरी ६ जना मन्त्रीलाई बर्खास्त गरेका थियो ।



