बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका झण्डै ६० प्रतिशत किसान आकाशे पानीको भरमा निर्भर रअेका छन् । आकाशे पानीको भरमा परेका किसान केही दिन यता निरन्तर रुपमा पानी पर्दा भने रोपाइँको चटारो छन् । आकशे पानीमा निर्भर किसान रहेका पानी पर्दा रोपाइँमा व्यस्त छन् ।
जिल्लाको दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले सिँचाइ सुविधाको अभावमा आकाशे पानीको भर पर्ने यहाँका किसान धमाधम रोपाइँ गर्न लागेको बताए । उनले भने, ‘सिँचाइ सुविधा नभएर आकाशे पानीको भरमा थियौँ, वर्षा भएसँगै रोपाइँको चटारो परेको छ ।’
जिल्लामा धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले वर्षा भएसँगै धमाधम रोपाइँ भइरहेको जानकारी दिए । जिल्लामा हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको उनले भनाई छ । सिँचाइ सुविधा भएका ठाउँमा यसअघि नै रोपाइँ सम्पन्न भइसकेको छ ।
समयमा वर्षा नहुँदा यस वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ । गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ७० प्रतिशत मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको पाटन नगरपालिका क्षेत्रका पाटनसेरा, डिलाशैनीको गोकुलेश्वर, सिगासको ढुङ्गाड, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसँग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसँग जोडिएका क्षेत्र र सुर्नयाको सुर्नया नदीसँग जोडिएका क्षेत्रलाई धान पकेट क्षेत्रका रूपमा लिने गरिएको छ । बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमिन घट्दै गएको छ।
पछिल्लो कृषि गणनानुसार यहाँ ५ हजार २ सय २५ हेक्टर जमिनमा मात्रै धानखेती हुने गरेको छ । यसअघि ९ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो ।


