बडीकेदार : नेपाल एक कृषि प्रधान मुलुक हो । विगतका आँकडा हेर्ने हो भने देशको कुल जनसङ्ख्याको ८० प्रतिशत जनसंख्या कृषिमा आवद्द रहेको थियो । तर, कृषि जनगणना २०७८ का अनुसार ६०.४ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको छ । तर, पछिल्लो समय देशमा कृषि पेसाप्रति चासो युवा वर्गले त्यति नदेखाएको भने सत्य हो । विदेश पलायनका कारण युवा जनशक्ति जति सबै विदेश पलायन भइरहेका छन् । पढाई सकेर देशमा रोजगारी नपाएको भन्दै विदेशिने युवाको सङ्ख्या दिनानु दिन बढ्दै गइरहेको छ । त्यही माथि कतिपयको सोचाइ त पढेर पनि के कृषि पेश गर्नु ? भन्ने मनस्थितिले पनि कृषि पेशा पछिल्लो समय थला परेको छ ।
तर, कतिपय युवावर्ग भने स्वदेशमै बसेर केही गर्नु पर्छ भन्ने सोचका साथ अघि बढी रहेका छन् । पछिल्लो समय त झन् थुप्रै युवाहरू पढाई सकेर कृषि पेसामा संलग्न भइरहेका छन् । व्यवसायिक रूपमा कृषि पेशा अङ्गाल्ने युवा वर्गको जमात पनि थुप्रै छ । जेनतेन स्वदेशमै केही गर्ने हुटहुटी उनीहरूमा छ । त्यही सोचका साथ कृषिमा आवद्द हुँदै विभिन्न किसिमका खेती गरी रहेका छन् । त्यस्तैमा एक हुन् डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडा नं ४ टिमुट्टका चक्र बिठारी । पेसाले उनी शिक्षक हुन् । तर उनी सुन्तला खेतीमा रमाइ रहेका छन् ।

बिठारी सोही गाउँपालिकाको वडा नं २ छेडामा अवस्थित कालिका आधारभूत विद्यालयमा अङ्ग्रेजी विषय पढाउँछन् । दिनभरि विद्यालयमा अध्यापन गराउँछन्, साँझ बिहान आफ्नै बारीमा मिहिनेत गर्छन् । आफ्नै बारीमा झण्डै ६,७ सय सुन्तला रोपेका उनी गत वर्ष गाउँपालिकामै सबैभन्दा बढी सुन्तला बिक्री गर्ने किसान समेत बनेका थिए । उनले गत वर्ष ८५ रुपैयाँ केजीको आधारमा सुन्तला बिक्री गरेका थिए । जसमा बिठारीले गत वर्ष मात्रै ८ लाखको सुन्तला बिक्री गरेको बताए । जो सबै भन्दा बढी सुन्तला बिक्री गर्ने सूचीको पहिलो स्थानमा उनी परेका थिए । उसो त पछिल्लो समय बिठारी जस्तै बडीकेदारका युवा जमात सबै सुन्तला खेतीमा जुटेका छन् । सबैले २,३ सय बोट देखि माथि नै सुन्तला रोपेका छन् ।
बिठारी भने दिन भर स्कुलमा जान्छन् र साँझ बिहान गरेर सुन्तला बारीमा काम गर्छन् । स्वदेशमै काम गर्दा हर कुराबाट फाइदा रहने उनी बताउँछन् । ‘स्वदेशमै काम गर्दा यही आम्दानीको स्रोत पनि बढ्यो, त्यसका साथै परिवारसँग बस्न पाइयो त्यति मात्रै नभई राज्यलाई समेत टेवा पुग्यो यही बसी कृषि गर्दा’, उनी भन्छन्, ‘स्वदेशमै जुनसुकै काम गर्दा खुसी मिल्छ, आफ्नै बारीमा उत्पादन गरेर ताजा चिज वस्तु खान मिल्यो, जसले गर्दा आफू पनि स्वस्थ भइयो । उता पैसा पनि कमाई भयो आफ्नो बारी बाँझो रहने अवस्था पनि रहन्न ।’ सुन्तला खेती मात्रै नभई जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही उत्पादन गरी स्वदेशमै पैसा कमाएर बस्ने वातावरण आफैले बनाउनु पर्नेमा पनि उनले जोड दिए । ‘सुन्तला खेती नै गर्नु पर्छ, हाम्रो यहाँ त सुन्तला हुँदैन भनेर चिन्ता लिनु पर्ने अवस्था छैन’, उनी भन्छन्, अदुवा उत्पादन हुने ठाउँमा अदुवा, अन्य तरकारी उत्पादन हुने ठाउँमा तरकारी, जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही उत्पादन गरेर बस्ने हो । त्यति गर्यो भने विदेश जानु पर्ने स्थिति आउँदैन । रहरले कोही जाने हैन बाध्यताले नै जाने हो तर पहिले एक पटक हामी यही केही गरौँ ।’

विभिन्न किसिमका चुनौतीका बावजुत पनि बिठारी जस्तै बडीकेदारका युवा व्यवसायिक कृषि पेशामा आबद्ध भएका छन् । विगतका केही वर्ष यता देखि सुन्तला खेतीमा निरन्तर रूपमा लागि रहेका बिठारी स्थानीय निकाय देखि प्रदेश सरकारले किसानका लागि केही नगरेको गुनासो गर्छन । ‘किसानका समस्यालाई समाधान गर्न तर्फ स्थानीय तह देखि केन्द्रीय सरकारले पनि अग्रसर हुनुपर्ने हो’, उनी भन्छन्, ‘तर, विडम्बना कृषकलाई कसैले पनि वास्ता गर्दैनन् । समस्या समाधानको कुरा त धेरै परको हो । झोलामा कृषि गर्नेले अनुदान पाउँछन् वास्तविक किसानले केही पाउँदैनन् ।’
बडीकेदार गाउँपालिकाको वडा नं. ४ को टिमुट्ट र खेताली तथा वडा नं. २ को छेडामा मात्रै वार्षिक करिब ६० देखि ७० लाखको सुन्तला बिक्री हुने गर्दछ । त्यस क्षेत्रलाई मात्रै सरकारले सुन्तला पकेट क्षेत्र घोषणा गरि कृषकका केही समस्या समाधान गरि बजारीकरण गरिदिए मात्रै स्थानीय तहलाई राजस्व सङ्कलनमा ठूलो राहत मिल्ने छ । तर, स्थानीय तहको त्यस तर्फ कुनै ध्यान जान सकेको छैन् । त्यस क्षेत्रमा सबैभन्दा कम सुन्तला बिक्री गर्ने किसानले डेढ लाखको बिक्री गर्ने गर्दछन् । सरकारले आधा मात्रै लगानी लगाएर सिँचाइ र जालीको व्यवस्था गरिदिए मात्रै व्यावसायिक तरिकाले सुन्तला खेती गर्न सहज हुने बिठारी बताउँछन् । ‘हामीलाई अत्यावश्यक भनेको थोपा सिँचाइ हो’, बिठारी भन्छन्, ‘आफैले सुन्तला बिक्री गरेर पाइप किनेर थोपा सिँचाइको व्यवस्था मिलाउन गाह्रो छ । पालिका र प्रदेश तथा केन्द्र सरकारले केही मात्रामा अनुदान दिए हल्का आफै थपेर पनि व्यवस्था गर्न सकिन्थ्यो । तर त्यस्तो केही छैन् सरकारले हेरिदिएको भए त सुन्तलालाई असिनाबाट बचाउन माथि जालीको व्यवस्था भैदिएको भए सुनमा सुगन्ध हुने थियो ।’

सुन्तलालाई भण्डारण गरि फागुनदेखि बिक्री गर्न पाए किसानले दोगुणा आम्दानी गर्न सक्ने उनको आँकलन छ । सरकारले भण्डारणका लागि सित भण्डारको योजना अगाडि सारी यहाँ कुनै ठाउँमा निर्माण गरिदिए किसानका हितको लागि त्यो भन्दा अर्को केही नरहेको उनी बताउँछन् । उक्त स्थानको सुन्तला पुससम्म बिक्री भइसक्छ । त्यस समयमा सबै ठाउँमा सुन्तला पाइने हुनाले किसानले राम्रो मूल्य पाउँदैनन् । त्यही भएर उनीहरु सित भण्डारको आवश्यकता महसुस गरि रहेका छन् । पछिल्लो समय सुन्तला खेती बडीकेदारका अधिकांश स्थानमा हुने गरेको छ । तर बजारीकरणको अभाव किसान वर्षेनी झेल्दै आई रहेका छन् । उनीहरूको भनाई छ, ‘पालिकाले बजारीकरणमा सहज वातावरण सिर्जना गरेर किसानका सुन्तला किन्ने व्यापारीबाट थोर बहुत कर लेओस् ।’ तर, स्थानीय तहले त्यस तर्फ कुनै चासो देखाएको देखिदैन ।

बिठारी सुन्तला खेतीका साथै बाख्रा पालनमा पनि लागेका छन् । करिब ४० ओटा जति त उनले बाख्रा नै पालेका छन् । बाख्रा पालनले सुन्तलाका लागि मलको अभाव हुन नदिने उता आर्थिक आम्दानी पनि भित्रिने हुनाले दोहोरो लाभ मिली रहेको उनको भनाई छ । वार्षिक रुपमा दुई लाख भन्दा बढी त आफूले खसी बोका नै बिक्री गरेर कमाउने गरेको बिठारी बताउँछन् ।


