सुखड : कैलालीको चिसापानी पुलबाट चार दिन अघि कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला भेटिएका छन् ।
जिल्लाको लम्की चुहा नगरपालिका ३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् ।
गत सोमबार होलीका दिन दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव बिहीबार टिकापुर २ संकटी घाटमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदम विष्टले जानकारी दिएका छन् । शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको एसपी विष्टले जानकारी दिएका हुन ।
घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो ।
पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो ।