आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट सात जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।
सिफारिस हुने उम्मेदवारमा प्रकाश मिश्र, विरभान चौधरी, लाजुराम चौधरी, विपिन आचार्य र कमलप्रसाद चौधरी रहेका छन्। त्यस्तै महिलातर्फ विनीता चौधरी र युवातर्फ वीरेन्द्र जिसीको नाम पनि सिफारिस गरिएको छ।
कृष्णराज सुबेदीको अध्यक्षतामा बसेको नेकपा कैलाली जिल्ला कार्यदलको बैठकले एक महिला र एक नवयुवासहित आकाङ्क्षीहरूको नाम केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा क्षेत्रीय राजनीतिक अवस्था, संगठनको मजबुती र उम्मेदवारको योगदानका आधारमा नाम टुंगो लगाइएको जनाइएको छ।
सिफारिस सूचीमा रहेका प्रकाश मिश्रलाई प्रतिनिधिसभा सदस्यका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट केन्द्रमा सिफारिस गरिएको छ। मिश्र विगत १८ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्। उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिका सदस्यसमेत रहिसकेका व्यक्ति हुन्।
नेकपाले समावेशी प्रतिनिधित्व र स्थानीय स्तरमा संगठनलाई बलियो बनाउने उद्देश्यसहित उम्मेदवार सिफारिस गरिएको बताएको छ। अब केन्द्रबाट अन्तिम निर्णय हुने जनाइएको छ।




