कैलालीको घोडाघोडी नगरपालिकाको नाममा उच्च अदालत दिपायलमा अपहेलना (अदालतको अवज्ञा) मुद्दा दर्ता गरिएको छ।
नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्ति प्रकरणमा अदालतको आदेशको पालना नगरेको भन्दै उक्त मुद्दा दायर गरिएको हो। घोडाघोडी नगरपालिका–११ मा अवस्थित पहलमान सिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विपिन प्रसाद आचार्य (उपाध्याय) ले अपहेलना मुद्दा दर्ता गराएका हुन्।

नगरपालिकाले संघीय शिक्षा ऐन विपरीत स्थानीय तहले बनाएको आफ्नै नियमावलीको आधारमा प्रधानाध्यापक नियुक्त गरेको थियो। सो नियुक्ति प्रक्रिया अदालतको आदेशको प्रतिकूल रहेको भन्दै यसअघि नै आचार्यले उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा अदालतले नगरपालिकाद्वारा गरिएका प्रधानाध्यापक नियुक्ति खारेज गर्न आदेश दिएको थियो।
तर अदालतको उक्त आदेशको पालना नगरिएको भन्दै उनले पुनः अपहेलना मुद्दा दर्ता गराएको जानकारी दिए।



