धनगढी । सुदूरपश्चिम प्रदेशभित्र खुलेका उद्योगहरू मध्ये ५ प्रकारका उद्योगको उत्पादन बढेको छ । भने, दुई प्रकारका उद्योगको उत्पादन घटेको छ ।
प्रदेशमा तोरीको तेल, चामल, चिनी, साबुन र इँटाको उत्पादन बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ती उद्योगबाट उत्पादित वस्तुको उत्पादन बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । तर दुई प्रकारका उद्योगको उत्पादन भने घटेको प्रतिवेदनले देखाएको छ ।
उत्पादन घट्नेमा गहुँको पिठो र रोजिनको रहेको छ । प्रदेशभित्र खाने तेल, प्रशोधित दूध, गहुँको पिठो, चामल, चिनी, काठ, साबुन, इँटा, रोजिन एण्ड टर्पेन्टाईन लगायतका उद्योगहरू दर्ता भएका छन् । प्रशोधित दूधको उद्योग भने हाल सञ्चालनमा छैन् । आर्थिक वर्ष २०७९/८० मा गरिएको अध्ययन अनुसार यस क्षेत्रमा सञ्चालित १२ वटा उद्योगको औसत क्षमता उपयोग ५३ दशमलव २८ प्रतिशत देखिएको छ ।
समीक्षा वर्षमा चिनी, इँटा, तोरीको तेल उत्पादन गर्ने उद्योगको अधिकतम क्षमता उपयोग भएको पाइएको छ । त्यसैगरी, साबुन, गहुँको पिठो, रोजिन र चामल उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग न्यून रहेको देखिएको छ । रोजिन उत्पादन गर्ने उद्योग कामदारहरूको अभाव, कच्चा पदार्थ सङ्कलनमा भएको ढिलाई, उद्योग पूर्ण रुपमा सञ्चालन हुन नसक्नु लगायत कारण उत्पादन न्यून हुन गएको प्रतिवेदनले देखाएको हो ।
पछिल्लो समयमा आर्थिक क्षेत्रहरू चलायमान बन्दै गएकाले औद्योगिक क्षमता र उत्पादन दुवैमा वृद्धि हुन गएको देखिएको छ । समीक्षा वर्षमा तेलको ८९ दशमलव ६९ प्रतिशत, चामलको ५ दशमलव ८१ प्रतिशत, चिनीको २७ दशमलव शून्य ७ प्रतिशत, साबुनको १० दशमलव २० प्रतिशत र इँटाको २८ दशमलव ५७ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।
त्यस्तै गँहुको पीठो र रोजिनको उत्पादनमा भने क्रमशः ३५ दशमलव १३ र १६ दशमलव ८४ प्रतिशतले घटेको छ । यस्ता वस्तु उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग घटेको कारण उत्पादनमा ह्रास आएको नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।