अमेरिकामा जारी नवौं संस्करणको आईसीसी टी २० विश्वकप क्रिकेट २०२४ मा सह आयोजक अमेरिकाले पाकिस्तान पराजित गरेको छ । उपाधिको बलियो दावेदार मानिएको पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पाखा लगाउदै नयाँ कीर्तिमान कायम गरेको हो ।
विश्वकपमा प्रायः टेस्ट राष्ट्रहरुको दबदबा कायम रहने गरेको थियो तर एसोसिएट राष्ट्र अमेरिकाले भने उपाधिकै दाबेदार मानिएको बलियो टेस्ट राष्ट्र पाकिस्तानलाई नै चक्मा दिँदै जित हात पारेको हो । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई पाखा लगाउन सफल रह्यो ।
पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो । तर, अमेरिकाका सौरभ नेत्रवालकरले मात्रै १३ रन खर्चिँदा अमेरिकाको ऐतिहासिक जित पक्का गरेको थियो । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए ।
१ सय ६० रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा मात्रै ३ विकेट गुमाएर १ सय ५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा पाकिस्तानका बलर हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए ।
ख्ेल बराबरी गर्ने क्रममा अमेरिकाका कप्तान मोनाङ्क पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले । ओपनर स्टिभ टेलर १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनाङ्क र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
गौस ३५ रनमा आउट हुँदा आरोन जोन्स ३६ रनमा आउट भएका थिए । नितेश कुमारले १४ रनमा अविजित रहे ।
बलिङ तर्फ पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट हात पारे लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।
कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ बनाए । स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाए ।
यस्तै शाहिन शाह अफ्रिदी २३ रनमा अविजित रहे । इफ्तिखर अहमद १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए ।
अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।


