सुर्खेतमा विहिवार बिहानै जिप दुर्घटना भएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप विहिवार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाहा भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।
जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको शव ल्याउने तयारी भइरहेको छ । बाँकीको खोजी कार्य भइरहेको उनले बताए ।



