सुखड: अमेरिकामा खेलिरहेको दोश्रो अभ्यास खेलमा पनि नेपाल विजयी भएको छ । उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो छ ।

१ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा मात्रै ९६ रनमा समेटिन पुग्यो । उसका लागि जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । त्यस्तै इमरान खान जुनियर र लाहिरु मिलान्था समान १६ रनमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट हात पार्दा सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । त्यस्तै कप्तान रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक/एक विकेट लिए ।
त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्रै १ सय २३ रन बनाउन सक्यो । नेपलका लागि कप्तान रोहित पौडेलले ४० बलकाे सामना गर्दै १ चौकासहित सर्वाधिक ३७ रन बनाए । ओपनर कुशल भुर्तेलले २३ रन जोड्दा बाँकी ब्याट्सम्यानले क्रिजमा जमेर खेल्न सकेनन् ।
बलिङ तर्फ ह्युस्टनका इमरान शेख जुनियर र जिआ शाहजादले ४ ओभरमा समान २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले एक/एक विकेट लिए ।
यो सँगै दुई खेलको सिरिज नेपालले क्लिन स्विप गरेको छ ।

पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।

नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग आईसीसी टी २० विश्वकप वार्मअप खेल खेल्नेछ । त्यसपछि विश्वकप सुरु हुनेछ ।
विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

