सुखड : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ ।
पार्टीको बैठकमा उपस्थित नभएको र पार्टीलाई नै निराश बनाउने काम गरेको भन्दै चौधरीलाई कारबाही गरिएको हो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीलाई पत्र काट्दै सांसद निलम्बन गरेको जानकारी गराएकी छन् । अध्यक्ष श्रेष्ठले चौधरीलाई चैत १४, १५ र २५ गते पार्टीले अति महत्त्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नु पर्ने भनी बोलाइएकोमा घनश्याम बैठकमा उपस्थित नभई पार्टीको विधान विपरीत काम गर्दै पार्टीलाई नै निराश बनाउने खालका गतिविधिमा संलग्न रहेको पत्रमा उल्लेख छ ।
घनश्यामले पार्टीले सोधेको स्पष्टीकरणमा समेत चित्त बुझ्दो जवाफ नदिएकाले पार्टीको अन्तरिम विधान २०७८ धारा १७ (क) को २,४२५ बमोजिम कार्य गरेकाले पार्टीको केन्द्रीय कमिटीको शुक्रबारको निर्णय बमोजिम प्रदेश सभा सदस्य चौधरीलाई ३ महिनाको लागि निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।
केहीदिन अघि मात्रै घनश्याम चौधरीलाई प्रदेशको संसदीय दलको नेताबाट हटाएर कैलाश चौधरीलाई दलको नेता बनाएकी रञ्जिताले आज फेरि निलम्बित गरेकी हुन्।
केन्द्रमा सत्ताको समीकरण फेर बदल पछि नागरिक उन्मुक्ति पार्टी दुई खेमामा विभाजित भएको छ । रञ्जिता पक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा उभिँदा पार्टी संरक्षक समेत रहेका रेशम चौधरी त्यसको विपक्षमा उभिएका थिए । सोही अनुसार रेशमले सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्दै आफू निकट पाँच सांसदलाई मन्त्री बनाएका थिए तर दुई जना रञ्जिता पक्षका सांसदले साथ नदिँदा मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिएका थिए ।