
कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज सातौँ दिनमा बिहान र दिउँसो गरी दुई वटा ‘बी’ डिभिजनका खेल र एक वटा क्वालिफायर्स खेल भएको छ । बिहान भएको ‘बी’ डिभिजनको पहिलो खेल हसनपुर युवा क्लब र न्यु ब्वाईज युवा क्लब भजनी बिच भएको थियो । जसमा न्यु ब्वाईज युवा क्लब भजनीले ३ गोल प्रहार गर्दे विजय भयो । निर्धारित खेल समयमा हसनपुर युवा क्लबले १ गोल मात्र फर्काउन सक्यो । बिहान भएको खेलको म्यान अफ द म्याच भने न्यु ब्वाईज युवा क्लब भजनीका खेलाडी दिनेश रावल भएका थिए । त्यसै गरी दिउँसो सम्पन्न भएको दोस्रो क्वालिफायर्स खेल पिएफए क्लब अत्तरिया र न्यु सुन्दर शक्ति युवा क्लब कैलारी बिच भएको थियो । जसमा पिएफए क्लब अत्तरियाले ७ गोल प्रहार गर्दे न्यु सुन्दर शक्ति युवा क्लब कैलारीलाई हराएको थियो । निर्धारित खेल समयमा न्यु सुन्दर शक्ति युवा क्लब कैलारीले गोल फर्काउन सकेन । खेल हारे सँगै न्यु सुन्दर शक्ति युवा क्लब कैलारी बाहिरिएको छ । उक्त खेलको म्यान अफ द म्याच पिएफए क्लब अत्तरियाका खेलाडी विजय विक्रम भण्डारी घोषित भए । आजै भएको दिउँसो तेस्रो ‘बी’ डिभिजनको खेल नैनादेवी युवा क्लब धनगढी र युवा मिलन भजनी बिच भएको थियो । जसमा नैनादेवी युवा क्लब धनगढीको २ गोल र युवा मिलन भजनीको २ गोल भएको थियो । दुई टिमको गोल बराबर भए पछि युवा मिलन भजनी र नैनादेवी युवा क्लब धनगढीले एक एक अङ्क बाँडेका छन् । उक्त खेलको म्यान अफ द म्याच भने युवा मिलन भजनीका खेलाडी शीतल महतो घोषित भएका थिए ।वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

