काठमाण्डौ: आज मंगलबार कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आउँदै छन्। उनी आज बेलुका बङ्गलादेशको राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाडौं अवतरण गर्ने तालिका रहेको छ ।
अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । त्यस्तै, कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिनेछ ।
आजै बेलुका राष्ट्रपति पौडेलसँग थानीको भेटवार्ता हुने समय तालिका रहेको छ ।
भोलि बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधि मण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । कतारसँग २०३३ साल माघमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भए यता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व)बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।
नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह समेत गर्ने भएको छ । त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ । कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ ।
कतारका राजाको सम्मानका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।