समाचार सारांश
- • धनगढी उप–महानगरः डेढ वर्ष देखी निमित्तकै भर , प्रशासन समूह सह–सचिव दरबन्दीमा शिक्षाका उप–सचिव हाकिम
- • उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत (सह–सचिव) रामलाल श्रेष्ठ गत माघमा सेवा निवृत्त भएयता तत्कालीन शिक्षा शाखा प्रमुख (उप–सचिव,शिक्षा) नरेन्द्र बहादुर खातीले प्रशासन प्रमुखको नेतृत्व सम्हालेका छन् ।
- • उप–महानगर जस्तो महत्त्वपूर्ण कार्यालय डेढ वर्ष सम्म प्रमुख प्रशासकीय अधिकृत विहीन भएपछि नगर सरकार कार्यशैली र क्षमता माथि नै प्रश्न उब्जिएको छ ।
कैलालीको धनगढी उप–महानगरपालिकाको प्रशासन विगत डेढ वर्ष यता निमित्तकै भरमा चलिरहेको छ । उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत (सह–सचिव) रामलाल श्रेष्ठ गत माघमा सेवा निवृत्त भएयता तत्कालीन शिक्षा शाखा प्रमुख (उप–सचिव,शिक्षा) नरेन्द्र बहादुर खातीले प्रशासन प्रमुखको नेतृत्व सम्हालेका हुन। प्रशासन समूह सह–सचिवको दरबन्दी रहेको उप–महानगरमा उप–सचिव (शिक्षा)ले उप–महानगरपालिका चलाइरहेका छन् ।
उप–महानगर जस्तो महत्त्वपूर्ण कार्यालय डेढ वर्ष सम्म प्रमुख प्रशासकीय अधिकृत विहीन भएपछि नगर सरकार कार्यशैली र क्षमता माथि नै प्रश्न उब्जिएको छ । नगर सरकारले प्रमुख प्रशासकीय अधिकृत ल्याउन नचाहेका हुन वा कर्मचारी आउन नचाहेका हुन भन्ने कुरा धनगढीवासीले बुझ्न सकेका छैनन् । तर श्रोत भन्छ, नगर प्रमुख गोपाल हमालले नै प्रमुख प्रशासकीय अधिकृत ल्याउन नचाहेका हुन । नगर प्रमुखले गर्न चाहेका नियम सङ्गत वा विपरीत हुने कुनै पनि काममा अवरोध नगर्ने सर्तमा नरेन्द्र खातीलाई प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ । हालका निमित्त प्रमुख प्रशासकीय अधिकृत खाती नगर प्रमुख हमालका एस म्यानका रूपमा काम गरिरहेका र नगर प्रमुखले उप–महानगरलाई आफ्नो प्रा.ली.जसरी चलाई रहेको श्रोतको जिकिर छ ।
“हमालले चाहेका कुनै पनि कामकारबाही खातीले नरोक्ने र यस बापत हमालले नयाँ प्रमुख प्रशासकीय अधिकृत नल्याउने उनीहरूको आन्तरिक सहमति छ नि, यो त ओपन सेक्रेट कुरा होइन र ? नत्र हमाल जस्ता शक्तिशाली मेयरले हाकिम ल्याउन सक्दैनन् ? उनीहरूको स्वार्थ मिल्या छ क्या हजुर, नयाँ हाकिम आएपछि यसरी मनोमानी रूपमा काम गर्न मिल्दैन होला नि त ।” श्रोतले भन्यो ।
उसो त धनगढी उप–महानगरमा कर्मचारी आउन नचाहने समस्या पनि छ । नगर प्रमुखको कार्यशैली र रुखो व्यवहारका कारण पनि कर्मचारीहरू आउन नमानिरहेको एक नेताले बताए । “एक जना चिनेका साथी थिए । आफ्नो ठाउँमा ल्याउन त, दरबन्दी पनि खाली छ भनेर कुरा गरेको उनले त धनगढी भन्नासाथ अस्वीकार गरे । त्यहाँको मेयर सँग काम गर्न सकिँदैन बरु अरू ठाउँमा हो भने म आउन तयार छु भनेर फोन काटे ।” ती नेताले भने ।



