
कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिनसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको हो ।

भारतमा लोकसभा निर्वाचन हुने भएकाले मङ्गलबार साँझ सवा पाँच बजेदेखि नाका बन्द हुने भएको छ । चम्पावत जिल्ला अन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिन लागेको हो ।
मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म स्वास्थ्य सेवा बाहेक अन्य सबै पूर्ण रूपमा नेपाल-भारत सीमा नाका बन्द हुनेछन्। स्वास्थ्य सेवाका लागि भने भारतको चम्पावतमा रहेको मजिस्ट्रेटले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।
त्यसै गरी बैतडीको झुलाघाट नाका आज मङ्गलवारदेखि बन्द हुने भएको छ। भारतमा अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ।
लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताएका छन् । उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो। सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।भारतमा काम गर्ने श्रमिक विशु पर्वका लागि घर आएका हरुलाई भने आवत जावतमा समस्या हुने देखिन्छ ।
