
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पूर्व प्रधानमन्त्रीद्धय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले आइतबार बिहान सिंहदरबारमा देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न बाँकी नै रहेको छ ।
संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै आएको छ । त्यसको मुख्य गरी चार विषयमा सहमति जुटेको छैन ।
मानव अधिकारको गम्भीर उल्लङ्घनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक गरिएको हत्या÷दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा हाल सम्म पनि कुरा मिलेको छैन ।
त्यस्तै सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने, मानअधिकार उल्लङ्घनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाई सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोक्ने भन्ने विषयमा पनि विवाद कायमै रहेको छ ।
कांग्रेस, एमाले र माओवादी केन्द्रले यससँग सम्बन्धित विवाद टुंगो लगाउन उपसमिति गठन गरेर छलफल गर्दै पनि आएका छन् ।
