
सुखड : ओमनमा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेट अन्तगर्त आज भएको खेलमा हङकङमाथि ८ विकेटको सानदार जित हात पार्दै नेपाल सेमीफाइनलमा प्रवेश गरेकाे छ ।

जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३ औं ओभरमा लक्ष्य पूरा गर्यो । सुरुवाती जोडीले आक्रामक सुरुवात दिलाएपछि नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्न सफल भएको हो ।
यस जितसँगै नेपाल ३ खेलमा ६ अङ्क जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा पुगेको हो अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । हङकङ भने ३ खेलमा २ अङ्कका साथ प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७० रनको आक्रामक साझेदारी गरे । कुशलले छैटौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुनुअघि १९ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।
आसिफ पनि अर्को ओभरमा पेभेलियन फर्किए । उनले १८ बलमा समान ३-३ चौका र छक्कासहित ४० रनको योगदान दिए । कप्तान रोहित पौडेल २५ रन र सन्दीप जोरा १९ रनमा अविजित रहे ।

हङकङका यासिम मुर्तजा र एहसान खानले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो ।
ओपनर मार्टिन कोट्जीलाई ८ रनमा तेस्रो ओभरमा गुमाएको हङकङले त्यसपछिको दुई विकेट भने रनआउटमा गुमायो । दीपेन्द्रसिंह ऐरीले निजाकत खानलाई सिंगल लिने धुनमा रनआउट गरे । उनले ११ बलमा १२ रन जोडे ।
त्यसपछि राम्रो खेलिरहेका अंशुमन रथलाई गुलशन झाले डिप बाउन्ड्रीबाट डाइरेक्ट थ्रोमा रनआउट गरे । उनले २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यसपछि हङकङले नियमित विकेट गुमायो । अंशुमन हुँदा एक समय ६१-२ को अवस्थामा रहेको हङकङ त्यसपछि भने सस्तोमा समेटियो ।
हङकङका लागि जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । धनन्जय राव पहिलो बलमा बोल्ड भएका थिए ।
नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।