भारतीय फ्रेन्चाइज टोली राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १२ लाख भारतीय रुपैयाँ जरिवाना तिराएको छ ।
बुधवार राती सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ३ विकेटले पराजित गर्यो । जारी सिजनको आईपीएलमा राजस्थानकाे यो पहिलो हार हो ।
गुजरातविरुद्धको उक्त खेलमा राजस्थानका कप्तान सामसनका लागि निकै निराशाजनक रह्यो । एकातिर टोलीले पहिलो हार भोग्नु पर्यो भने अर्कोतिर, कप्तानको रुपमा उनले १२ लाख भारतीय रुपैयाँ जरिवाना पनि तिर्नु पर्यो ।
जयपुरमा भएको उक्त खेलमा ‘स्लो ओभर रेट’ का कारण सन्जु सामसनमाथि उक्त जरिवाना लगाइएको जनाइएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा तीन विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले ७ विकेट गुमाएर अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको थियो । गुजरातलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । जसमा गुजरातका राशिद खानले गजबको प्रदर्शन गर्दै जित दिलाए ।
राजस्थानले अन्तिम ओभर बलिङ गर्नु अघि नै खेल पाँच मिनेट ढिलो भइसकेको जनाइएको छ ।
जारी सिजनको आईपीएलमा राजस्थानको यो पहिलो गल्ती भएकाले न्युनतम सजाय मात्र गरिएको जानकारी बीसीसीआईले जनाएको छ ।