नेपाल ‘ए’ टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड उल्भ्सले ‘क्लिन स्वीप’ गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई ६९ रनले हराउँदै आयरल्यान्ड उल्भ्सले शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।
आयरल्यान्ड उल्भ्सले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३९ ओभर ४ बलमा २ सय १५ रन बनाउँदा अल आउट भयो । नेपाल ‘ए’ का अर्जुन कुमालले शतक बनाए पनि जितका लागि पर्याप्त भएन । अर्जुन १ सय १८ बलमा १ सय २ रन बनाए । यस्तै अर्जुन साउदले ३६ रन जोडे । नेपालले ‘ए’ ले २२ रन अतिरिक्त पायो ।
बलिङतर्फ आयरल्यान्ड उल्भ्सका बेन ह्वाइटले ५ र गभिन होवेले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । आयरल्यान्ड उल्भ्सका स्टेफेन डोहेनीले शतक बनाए । डोहेनी १ सय २९ बलमा १ सय ७ रन बनाएर आउट भए । यस्तै पिटर मूरले २५ बलमा ४४ रन जोडे । बलिङतर्फ नेपाल ‘ए’ का रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए ।
एकदिवसीय क्रिकेट शृङ्खलामा आयरल्यान्ड उल्भ्सले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी २० क्रिकेट शृङ्खला आयरल्यान्ड उल्भ्सले २–१ ले जितेको थियो ।