
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएका छन् । पाण्डेले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डे गएको फागुन २३ गतेदेखि अल्पमतमा परेका थिए । उनले आजसम्म विश्वासको मत लिनु पर्नेमा विश्वासको मत नलिई राजीनामा दिएका हुन् ।
अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्ने छन् । सत्ता गठबन्धनले बहुमत जुटाएर दाबी पेस गरे नयाँ सरकार बन्ने छ । नभए उपधारा ३ अनुसार ठूलो दलको हैसियतले पाण्डे नै पुनः मुख्यमन्त्री बन्ने छन् ।
गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । २ सदस्य रहेको राप्रपाले दिएमा मात्रै गठबन्धनको बहुमत पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।
