नेपाली कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’को बहस तीव्र बनेको छ। पछिल्लो समय जेनजी आन्दोलनपछि देशभर युवाहरू राजनीतिमा अग्रसर भइरहेका बेला रामेछापका युवाहरूले पनि आगामी निर्वाचनमा नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने माग गरेका छन्।
काठमाडौंको मध्यबानेश्वरस्थित सनराइज फुडल्याण्डमा आयोजना गरिएको विशेष भेलामा नेपाली कांग्रेस रामेछापसँग आबद्ध युवाहरूले प्रतिनिधिसभा तथा पार्टीभित्रका नेतृत्व तहमा युवाहरूलाई अग्रभूमिमा ल्याउन जोड दिएका हुन्।
नेपाल तरुणदलका केन्द्रीय सदस्य रमेश खड्काको संयोजनमा सम्पन्न भेलामा सहभागीहरूले देशको जनसंख्या संरचनामा युवाको बहुमत रहेको हुँदा नेतृत्व प्रणालीमा संरचनागत रूपान्तरण आवश्यक रहेको निष्कर्ष निकालेका छन्।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशिलहरि बख्रेलका अनुसार पार्टीसँग आबद्ध युवा तथा विद्यार्थी संगठनहरूले आगामी निर्वाचन र पार्टी महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनाउन दबाब दिने निर्णय गरेका हुन्।
कार्यक्रममा सहभागि युवाहरूले नयाँ पुस्तासँग प्रविधिको ज्ञान, विश्व सन्दर्भको बुझाइ, व्यवहारिक नेतृत्व शैली र परिवर्तनका लागि आवश्यक ऊर्जा रहेको भन्दै वर्तमान नेतृत्वले यो तथ्यलाई आत्मसात् गरी ‘युवा नेतृत्व’लाई अवसर दिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा तरुणदलका केन्द्रीय सदस्यहरू कमान खड्का (दिपेन्द्र), योगेश श्रेष्ठ, विनिती खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू नारायण श्रेष्ठ, विष्णु खड्का, विष्णुहरि खड्का, चन्द्र थापा मगर, लोकतान्त्रिक खेलकुद समिति रामेछापका अध्यक्ष पुष्कर पौडेललगायतको उपस्थिती रहेको थियो।





