नेपाली साहित्यका अमर स्रष्टा स्व. पहलमान सिंह स्वारको १४७औँ जन्मजयन्तीको अवसरमा पहलमान सिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालय, घोडाघोडी नगरपालिका–११ आम्बासाले अन्तरविद्यालयीय माध्यमिक तह वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
पहलमानसिंह युनेस्को क्लब पहलमानपुरको समन्वयमा आयोजित कार्यक्रममा वक्तृत्वकला, सांस्कृतिक प्रस्तुति तथा विविध सिर्जनात्मक कार्यक्रमहरू संचालन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपिन आचार्य रहेका थिए । घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरी प्रमुख अतिथि रहेकी थिइन् भने विशिष्ट अतिथिमा नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत उमेश राज रेग्मी र वडा नम्बर ११ का वडा अध्यक्ष दानसिंह जोगी रहेका थिए। कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका शिक्षक महादेव अवस्थीले राखेका थिए भने सञ्चालन शिक्षक चक्रबहादुर कलेलले गरेका थिए।
“नेपाली साहित्यमा पहलमान सिंह स्वारको योगदान” विषयमा आधारित वक्तृत्वकला प्रतियोगितामा विभिन्न विद्यालयले सहभागिता जनाएका थिए। सोही प्रतिस्पर्धामा पाइनियर्स स्कलर्स एकेडेमी प्रथम, राष्ट्रिय माध्यमिक विद्यालय सुखड द्वितीय तथा आयोजक पहलमान सिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्।
कार्यक्रमको क्रममा स्व. पहलमान सिंह स्वारको सालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। 
विद्यालय परिवारले उपस्थित सम्पूर्ण सहभागी, विद्यालय शिक्षक तथा प्रतिस्पर्धी विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्दै समारोह सम्पन्न गरेको जनाएको छ।





