सुदूरपश्चिम प्रदेशमा अपराधको डर लाग्दो अवस्था रहेको छ । घटना भएपनि अपराधिलाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसक्नुले अपराधलाई झनै राहत मिलि रहेको छ । अनुसन्भान जारी छ भन्ने प्रहरीको भास्सेले अपराधीहरु म्लजल पाइरहेको अवस्था छ ।
वि.सं. २०७० साल मङ्सिर २६ गते कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैङ्कको शाखाबाट नेपाल राष्ट्र बैङ्क धनगढीमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार नेपाली रुपैयाँ र २ सय अमेरिकी डलर पूर्व–पश्चिम राजमार्गस्थित मालाखेती जङ्गलमा दिउँसै लुटियो । घटना भएको ११ वर्ष पुग्न लाग्दा समेत अहिलेसम्म दोषी पत्ता लगाउन प्रहरीले सकेको छैन् ।
धनगढीमा २०६९ साल मङ्सिर २५ गते हत्या गरिएका ओमप्रकाश पन्तका परिवारले पनि १२ वर्ष वित्न लाग्दासम्म अझै न्याय पाउन सकेका छैनन् । हत्याको बारेमा प्रहरी प्रशासनले प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि नबढाएको पीडित परिवारको गुनासो रहँदै आएको छ । त्यस्तै लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको वर्षौंसम्म उनको अवस्था अज्ञात छ । उनको अवस्था के छ ? कस्तो अवस्थामा छ भन्नेसम्म कसैलाई थाहा छैन् ।
धनगढीस्थित क्याम्पस रोडमा डेरी व्यवसाय गर्ने दिपक खड्का परिवारसहित बेपत्ता भएको लामो समय बित्यो। तर खड्का परिवारको अवस्था हालसम्म प्रहरीले थाहा पाउन सकेको छैन् । निर्मला हत्याकाण्ड त सिंगो प्रहरी संगठनका लागि नै टाउको दुखाईको घटना बनिरहेको छ । तर दोषी पत्ता लगाउन सकिएको छैन् ।
यस्ता घटनाले सुदुरपश्चिम प्रदेशमा प्रहरीको कमजोर अनुसन्धान र कार्यसम्पादनलाई प्रतिबिम्बित गर्छ । यीबाहेक वर्षौं पुराना घटना पनि छन्, जो अहिलेसम्म सुल्झन सकेका छैनन् । प्रहरीले घटनाको अनुसन्धान जारी नै रहेको भन्ने जवाफबाटै पीडितले चित्त बुझाउनु परेको छ ।
८२ महिलासहित ६२६ जना फरार
सुदूरपश्चिममा अपराध डरलाग्दो रुपमा बढ्न थालेको छ । २०७८ देखि २०८० सम्म मात्र सुदूरपश्चिममा विभिन्न अपराधका १० हजार ३३४ मुद्दा प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा तीन हजार २२८, आर्थिक वर्ष २०७९÷८० मा तीन हजार पाँच सय ३ र गत आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार ६ सय ३ मुद्दा दर्ता भएको पाइएको हो ।
साथै प्रहरीमा दर्ता भएका मुद्दाको समयमा सुनूवाई हुने गरेको छैन् । २०७८ मा तीन सय २२, २०७९ मा १ हजार ६६ र २०८० मा १ हजार २ सय ४ गरेर २ हजार ५९२ मुद्दाको समयमा सुनूवाई नभएको देखिएको छ । तीन आर्थिक वर्षको अवधिमा सुदूरपश्चिममा ७ हजार ६ सय ३९ पुरुष र पाँच सय ७० महिला पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
सुदूरपश्चिममा जबरजस्ती करणी, चोरी, लागुऔषध, हत्या, जबरजस्ती करणी उद्योग लगायत अपराधमा संकलग्न तर फरार भएकाहरुको संख्या उच्च देखिएको छ । अपराधमा संलग्न ८२ महिलासहित ६ सय २६ जना अझै फरार छन् । सुदूरपश्चिममा मुद्दा चलाउने इकाई २०, जिल्ला प्रहरी कार्यालय ९ र इलाका प्रहरी कार्यालय ११ छन्।