
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको छ ।

बुधबार बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिएका हुन ।
मङ्गलबार मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका एक राज्य सहित तीन मन्त्रीलाई बर्खास्त गरेका थिए । मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो ।
आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलि पल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११ सांसद रहेका छन् । माओवादीले समर्थन फिर्ता लिँदा पनि सरकार भने हालसम्म बहुमतमै रहेको छ । अहिले सम्म कांग्रेस सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई रहेको छ । जसमा कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।

सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । यहाँका मुख्यमन्त्री शाहसँग कांग्रेस बाहेक अन्य दुई दलले समर्थन फिर्ता नलिँदा सम्म २९ सांसदको समर्थन रहेको छ ।