कैलाली । इजरायल र प्यालेस्टाइनको युद्दमा कञ्चनपुरका विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा परे । उनी नियन्त्रणमा परेको पाँच महिना पुग्नै लागेको छ।
नेपालको कूटनीतिक पहल नपुग्दा गत नोभेम्बरको संघर्षविराममा विपिन छुट्न सकेनन् । त्यसयता विपिनको अवस्था के छ भन्नेसम्म नेपाललाई थाहा छैन। आगामी सोमबार रमादानको अवसर पारेर यी दुई देशले फेरि युद्धविराम गर्ने तयारी गरेका छन् । विपिनलाई छुटाउन सरकारले के पहल गरिरहेको छ? किन असफल भइरहेको छ विपिनलाई छुटाउने नेपालको कूटनीतिक प्रयास ? इजरायल र हमासबिचमा गत नोभेम्बरमा भएको संघर्षविरामका क्रममा हमासले नियन्त्रणमा लिएका १ सय १० बन्दी रिहा भएका थिए ।
जसमा अधिकांश इजरायली थिए भने हमासले थाइल्यान्ड र फिलिपिन्सका नागरिकलाई समेत रिहा गरेको थियो। तर, त्यतिखेर विपिन जोशी छुट्ने सूचीमा परेनन्। विपिनका परिवारले उनको मुक्तिका लागि आवश्यक पहल गरिदिन आफैँ र सरोकारवाला निकायमार्फत नेपाल सरकारलाई निरन्तर दबाब दिँदै आएका छन्।
इजरायल र हमासबिच फेरि युद्धविराम होला र छोरा फर्केलान् भन्ने आशामा परिवार बाटो हेरिरहेका छन्। संघर्षविरामका बेला अन्य मुलुकका नागरिक छुट्दा पनि विपिन जोशी नछुट्दा नेपालको कूटनीतिक क्षमतामाथि नै प्रश्न उठ्ने गरेको छ ।