बास नेपाल कैलाली शाखा र उप-शाखा घोडाघोडीको आयोजनामा शनिवार सुखडमा सम्पन्न स्लो बाइक कम्पिटिसनका विजेताहरूले घोडाघोडी क्लबलाई पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।
क्लबको गतिविधिहरू चलायमान गराउन सहज बनाउने उद्देश्यले प्रतियोगिताका विजेता बनेका रोशन शाही, दोस्रो भएका वीरेन्द्र शाही र तेस्रो स्थान प्राप्त गरेका गणेश शाहीले संयुक्त रूपमा नगद १० हजार क्लबका अध्यक्ष होम तामाङलाई हस्तान्तरण गरे ।
प्रतियोगिताको विजेता बने बापत उनीहरूले ३० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । “शनिवारबाट नै गौरीगङ्गामा ठुलो धनराशिको फुटबल प्रतियोगिता सुरु भयो । त्यसमा घोडाघोडी क्लब पनि सहभागी भएको छ । प्रतियोगितामा क्लबलाई हुने आर्थिक भार कम गर्दै हौसला दिन हामीले संयुक्त रूपमा केही सहयोग गरेका हौ ।” स्लो बाइक कम्पिटिसनका विजेता मध्येका गणेश शाहीले भने ।
पछिल्लो समय घोडाघोडी क्लबले खेलकुदका गतिविधि सँगै समाज रूपान्तरणका लागि समेत काम गर्दै आएको छ । खेलकै माध्यमबाट लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणमा जुटेको क्लबले खेलाडी उत्पादनको क्षेत्रमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रकाशित :- २०८० फाल्गुन २०, गते आईतवार