कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केरा खेती गर्दै आएका रानाले केरा खेतीबाट वार्षिक १० लाख बढी आम्दानी गरिरहेका छन् ।
राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानित समेत भइसकेका छन् । सुरुवातमा पाँच बिघा जग्गामा केरा खेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार ऋण लिएर केरा खेती थालेको उनले बताए । अहिले केरा खेतीबाट वार्षिक १० लाख भन्दा बढी आम्दानी हुने गरेको उनको भनाई छ । ‘केरा खेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु’, रानाले भने, ‘वार्षिक २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक १० लाखसम्म आम्दानी हुन्छ ।’
केरा खेतीको आम्दानीबाट घर खर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए । कृषिमा प्रविधिको प्रयोग गरेपछि कम लागतमा धेरै आम्दानी हुन थालेपछि उनले पछिल्लो समय आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको बताए । ‘कृषिमा अहिले थुप्रै प्रविधि आएको छ यसबाट कम लागतमा धेरै आम्दानी गर्न सकिन्छ’, रानाले भने, ‘अहिले खेती गर्दा प्रविधिको प्रयोग गर्ने गरेको छु, अहिले ड्रोन प्रविधिबाट खेती गर्ने प्रयास गरिरहेको छु ।’
कृषक रानाले केरा खेती गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको गुनासो गरे । ‘मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु । यहाँ भाडामा पनि जग्गा पाइँदैन, पाइए पनि दुई÷तीन वर्षका लागि मात्रै पाइन्छ’, रानाले भने, ‘लामो समयका लागि जग्गा भाडामा नपाउँदा थोरै क्षेत्रफलमा खेती गर्नु परेको छ ।’
उनले लामो समयसम्मका लागि जग्गा भाडामा पाइए केराखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए । खेतीमा प्रविधिको प्रयोगले उत्पादन र आम्दानी राम्रो हुन थालेको उनको भनाइ छ । ‘बीउ बिजन र विषादीलगायत आवश्यक कीटनाशाक औषधि छर्कन ड्रोन प्रविधिबाट खेती गर्ने तयारीमा छौँ’, रानाले भने, ‘ड्रोन प्रविधिको प्रयोगले उत्पादन र आम्दानी बढ्ने आशा गरेका छौँ ।’ उनले पछिल्लो समय विषादी छर्किंदा किसानहरुको स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै ड्रोन प्रविधिले कृषकको स्वास्थ्यमा हुने समस्या कम हुने विश्वास व्यक्त गरे । रानाले दुई जनालाई मासिक तलबमा कामदार राखेका छन् भने खेतीको सिजनको बेला ३०÷४० जनालाई रोजगारी दिने गरेको बताए ।
उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ । ‘अहिलेसम्म बजारको समस्या भोग्नु परेको छैन’, उनले भने, ‘स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानु पर्दैन ।’ उनले यहाँ उत्पादित केरा अत्तरिया, दिपायल, डडेल्धुरा र दाङको तुलसीपुरसम्मका बजारमा जाने गरेको जानकारी दिए । रानाले राज्यले किसानलाई सहयोग गर्ने नीति ल्याउएमा किसानलाई हौसला प्राप्त हुनुका साथै उत्पादन वृद्धिमा सहयोग पुग्ने बताए ।