
अत्तरिया : कैलालीको गोदावरीमा लागुऔषधमा संलग्नहरु धमाधम प्रहरीको फिन्दामा पर्न थालेका छन् । लागुऔषध सेवन, कारोवार र ओसारपसारमा संलग्नहरु गोदावरी नगर क्षेत्रबाट धमाधम पक्राउ पर्न थालेका हुन् ।


इलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषधमा संलग्नहरुलाई खोजी खोजी नियन्त्रणमा लिन थालेको छ । मालाखेतीले आर्थिक वर्ष २०८०÷८१ मा ६६ लागुऔषध मुद्दाका ९८ जनालाई पक्राउ गरेको छ ।
साथै इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) मा एक वर्षको अवधिमा विभिन्न अपराधका ३ सय ८० घटना दर्ता भएका छन् । सो अवधिसम्म सबैभन्दा बढी सार्वजनिक हितविरुद्ध ८४, लागुऔषध ६६, बैंकिङ कसुर ६१, देहत्याग ४५ र आत्महत्या दुरुत्साहनका ४ वटा उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताएका छन् ।

भवितव्य ज्यान २६, फुटकर ज्यान ८, कर्तव्य ज्यान एक, ज्यान मार्ने उद्योग २, चोरी सम्वन्धि १०, जुवा तीन, ठगी ४, जबरजस्ती करणी १६, जबरजस्ती करणी उद्योग ७, सवारी ज्यान ११ र बहुविवाहका ५ वटा उजुरी दर्ता भएको उनले बताएका हुन्। आर्थिक वर्ष २०७८/७९ मा कुल ३ सय ५३, आर्थिक वर्ष २०७९÷८० मा ३ सय ५० र आर्थिक वर्ष २०८०÷८१ मा अपराधका घटना बढेर ३ सय ८० पुगेको छ ।

३ सय ८४ जना विरुद्ध मुद्दा चलाइएको डिएसपी थापाले बताए । इलाका प्रहरी कार्यालय मालाखेतीले ७३ ग्राम ६ सय ३ मिलिग्राम लागुऔषध र १३ किलो ३८० ग्राम चरेस बरामद गरेर ६६ मुद्दामा ९८ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को अन्तिम तीन महिनाको अवधिमा मात्र १६ ग्राम २४० मिलिग्राम लागुऔषध र २ सय २३ ग्राम र ४ सय २७ मिलिग्राम चरेससहित २४ मुद्दामा ३३ जनालाई पक्राउ गरिएको डिएसपी थापाले जानकारी गराए ।

उनले भन्सार छलीका सामानसहित पाँच जनालाई समेत पक्राउ गरिएको बताए । साथै ४ स ४६ दशमलव १७ क्युफिट अबैध काठसहित ८ जनालाई नियन्त्रणमा लिनुका साथै अबैध नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका १५ ट्याक्टर, ७ वटा जेसीभी, एउटा टिप्पर, ४ वटा रोल गरी २७ वटा सवारीसाधन नियन्त्रणमा लिएर त्यसबाट ७ लाख १२ हजार गोदावरी नगरपालिकाले राजस्व असुली गरेको डीएसपी थापाले बताए । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ३० महिला, २८ पुरुष र एक जना तेस्रो लिङ्गी गरेर ५९ जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ ।

