कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिप क्रिकेट प्रतियोगितामा सीवाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ । आईतबार बिहान भएको खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्दै अत्तरियाले जित दर्ता गरेको हो ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ६४ रनको चुनौतिपूर्ण योगफल तयार गर्यो । जसका लागि भीम सार्कीले सानदार व्याटिङ गरे । मात्रै ३३ बलको सामना गरेका सार्कीले ६ चौका र ४ छक्काको मद्दतमा ७० रनको अविजित अर्धशतकीय पारी खेले । यस्तै विवेक यादव २५ रनमा अविजित रहे । उसका ओपनर तृत राज दासले ३० तथा कप्तान सन्तोश कार्कीले २५ रनको योगदान गरेका थिए ।
बलिङतर्फ बैतडीका लागि अमर रौटेलाले २ तथा रुपेश सिंहले १ विकेट हात पारे ।
१ सय १६५ रनको विजयी लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको बैतडीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३८ रनमै समेटिन पुग्यो । उसका लागि हिमाल भौल्यालले सर्वाधिक ३९, बसन्त खत्रीले २३ तथा सुमित बडालले १८ रन बनाउन बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ अत्तरियाका लागि विवेक यादवले घातक बलिङ गरे । ४ ओभर बलिङ गरेका यादवले २५ रन खर्चेर ४ विकेट हात पारे । यस्तै शाहव आलम र कमल गुप्ताले २ तथा दिपेश कंडेलले १ विकेट हात पारे ।
व्याटिङमा १७ बलको सामना गर्दै २५ रन र बलिङमा ४ विकेट हात पारेका यादव म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद हात पारेका छन् ।

आज नै भइरहेको अर्को खेलमा डिसिए धनगढी र घोडाघोडी ११ विच प्रतिस्पर्धा भइरहेको छ । टस जितेर पहिले व्याटिङ रोजेको धनगडीले २ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा १६ रन जोडेको छ ।

धनगढी आफ्नो पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरासँग ८ विकेटले पराजित भएको थियो भने घोडाघोडी प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।

