काठमाण्डौ । राष्ट्रिय सङ्गीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म ल्होछार मेला गर्ने भएकाे छ । सङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्होसार, सोनाम ल्होसार, तमु ल्होसार र २५५१ औं ग्याल्पो ल्होसारको शुभ अवसरमा ‘बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८०’ आयोजना गरिने जानकारी दिएकाे हाे ।
तामाङ समुदायकाे ल्हाेछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसकाे महत्व र औचित्यबारे जानकारी दिने गरी मेलाकाे आयाेजना गरिएकाे राष्ट्रिय सङ्गीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताउनु भयाे ।
ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ कार्यक्रममा सहभागी हुने जनाएको छ ।
अन्तिम दिन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री उद्धार महर्जन कार्यक्रममा उपस्थित हुने उनको भनाइ छ । बागमती प्रदेश भित्रका जिल्लाहरुमा रहेको कला र संस्कृतिको उत्थानका लागि ल्होछार मेला आयोजना गरिएको उनले बताए ।
उक्त कार्यक्रममा स्थानीय उत्पादन ( खाद्यान्न तथा पोशाक ) को स्टलसमेत राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछा लगायत स्टलमा राखिने राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय सदस्य मन बहादुर तामाङले जानकारि दिनुभयाे ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घका वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल र नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तानले ल्होछार महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा युथ क्रियसन नेपालका संस्थापक अध्यक्ष कलाकार रवि लामा तामाङ, सगुन इभेन्ट म्यानेजमेन्ट, राष्ट्रिय सङ्गीतकर्मी संघ, बागमती प्रदेशका महासचिव दिनेश तामाङ, महासचिव अमृत खाती लगायतको उपस्थिति रहेको थियो ।