
कैलाली जिल्लाको गौरीगंगामा एक जना युवकको हत्या गरिएको छ । गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय सुरेश भुलको बाख्रा चोरेको निहुँमा कुटपिट गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको बताए । कुटपिटबाट घाइते भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । बोहराकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ कान्तिपुरकी ३४ वर्षीया रमा रावलसहित पाँच जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा रावलसहित ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेको डीएसपी बोहराले बताएका छन् । भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।




