कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कृषि कामदारको चरम अभाव देखिएको एक सरकारी अध्ययन प्रतिवेदनले नै देखाएको छ।
राष्ट्रिय कृषि गणनाको आइतबार सार्वजनिक प्रतिवेदनले यस्तो समस्या देखाएको हो। पछिल्लो समय युवा शक्ति विदेश पलायन र सहरीकरणले सामुदायिकस्तरमा कृषि कामदारको चरम अभाव देखिएको छ। विवरण सङ्कलन गरिएका वडाहरूमध्ये तीन वर्षमा ४० प्रतिशत वडाहरूमा कृषि कामदारको अभाव भएको छ। सुदूरपश्चिममा ९७ वडामा कृषि कामदारको अभाव हुने गरेको पाइएको हो।
कृषि गरिरहेका अधिकांश किसानलाई विषादीको बारेमा पूर्ण ज्ञान नभएको समेत पाइएको छ। सार्वजनिक प्रतिवेदनअनुसार कृषि बालीमा विषादीको प्रयोगको विषयमा सामान्य जानकारी बाहेक झण्डै ८० प्रतिशत किसानलाई पूर्ण ज्ञान नभएको पाइएको छ । उत्पादन गरिएका बालीमा प्रयोग भएका विषादीका बारेमा आंशिक सचेत किसानको संख्या बढी देखिए पनि २० दशमलव ७ प्रतिशत किसान मात्र बढी सचेत रहेको तथ्याङ्कले देखाएको छ।
त्यस्तै कृषि कामदारको औसत ज्यालामा महिलाको तुलनामा पुरुषलाई बढी रहेको समेत पाइएको छ। प्रतिवेदन अनुसार महिला कामदारलाई पाँच सय ३८ रुपैयाँ दैनिक ज्याला र पुरुषलाई ६ सय रुपैयाँ रहेको छ। साथै सुदूरपश्चिमका ३ सय ४० वडाहरुमा मात्र बाह्रै महिना मोटर चल्ने सडक रहेकोे प्रतिवेदनमा उल्लेख छ।
कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति बाढी पहिरोबाट हुने गरेको समेत पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को प्रतिवेदनले यस्तो देखाएको हो। कार्यालयले ४५ दिन लगाएर तथ्याङ्क सङ्कलन गरेको थियो। हरेक पालिकाको वडामा पुगेर भू–उपयोग, सामाजिक–आर्थिक अवस्था, वडामा उपलब्ध सामुदायिक सेवा–सुविधाका विषयमा कार्यालयले अध्ययन गरेको थियो।
सुदूरपश्चिममा ४ लाख ५७ हजार ७ सय ५६ किसान परिवारले १ लाख ९२ हजार ८ सय ८५ हेक्टरमा कृषि कार्य गर्दै आएको प्रतिवेदनमा उल्लेख छ। प्रदेशभित्र धान १ लाख ८ हजार ८ सय, मकै २३ हजार ७३ र गहुँ १ लाख ४ हजार ५ सय ७३ हेक्टर क्षेत्रफलमा गरिँदै आएको छ। त्यस्तै आँप तीन सय, केरा ७ सय ५, सुन्तला ३ सय ९३, कागती १ सय ८१ र स्याउ १ सय ३९ हेक्टरमा गरिँदै आएको छ ।