काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरेको र अध्ययनकै क्रममा रहेको बताएका छन् ।
शनिबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाबारे छानबिन आयोगले बुझाएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको र अध्ययनपछि त्यसबारेमा निर्णय गरिने बताएका हुन् । साथै प्रधानमन्त्री प्रचण्डले संसद्मा प्रतिपक्षी दलले राजनीतिक संस्कार देखाउनु पर्ने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले भने ‘आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं । यो सरकारको क्षेत्राधिकार पनि हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।’
गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषद्को बैठकले पुस १६ मा जाँच बुझ आयोग बनाएको थियो । आयोगले ४४ दिनसम्म छानबिन गरी प्रतिवेदन बुझाएको थियो ।
आयोगले बुझाएको प्रतिवेदनले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको थियो ।
प्रतिवेदनमा मन्त्रीको गल्ती भनिए पनि उनलाई कारबाही नगरिएको भन्दै संसद्मा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाउँदै आइरहेका छन् । उनीहरूले मन्त्री ज्वालासँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
त्यसबारेमा पार्टीको संसदीय दलको बैठकमा विषय उठेपछि प्रधानमन्त्री प्रचण्डले आवश्यक निष्कर्षमा पुग्ने बताउँदै प्रतिपक्षलाई राजनीतिक संस्कार देखाउन भनेका हुन् ।
आगामी मन्त्रिपरिषद् बैठकपछि सरकारको तर्फबाट संसद्मा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन प्रधानमन्त्रीले आफ्ना दलका सांसदहरूलाई निर्देशन समेत दिएका छन् ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्न सिंहदरबारमा आज बिहान माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो ।


